
काठमाडौं, साउन १४ गते।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक बनेको छ। भ्रमणको अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएपछि नेपालले चारवटै खेल गुमाउँदै शृङ्खलाको अन्त्य गरेको हो। यससँगै नेपालले लिग–२ मा दोस्रो पटक विदेशी भूमिमा ‘क्लिन स्वीप’ हार बेहोरेको छ।
उट्रेच्टमा बुधबार सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुआती चरणमा उत्कृष्ट बलिङ गर्दै नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो। तर मध्यक्रममा कप्तान स्कट इडवार्डस र नोह क्रोजबीच भएको सानदार साझेदारीका कारण घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुदेखि नै विकेट गुमाउने क्रम रोक्न सकेन। नियमित अन्तरालमा विकेट गुमाउँदा नेपाल ४८ ओभरमै १ सय ६८ रनमा समेटियो र ५७ रनको हार बेहोर्यो। ब्याटिङ र बलिङ दुवै विभागमा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले नेदरल्यान्ड्स भ्रमण जितविहीन रूपमा टुंग्याउन बाध्य भयो।
यो भ्रमणमा नेपालले खेलेका चारवटै खेल गुमायो। यसअघि नामिबियासँग दुई तथा नेदरल्यान्ड्ससँग एक खेलमा पराजित भएको नेपाल अन्तिम खेलमा पनि हार्दै लिग–२ को यो चरणबाट कुनै अंक जोड्न असफल रह्यो। विदेशी भूमिमा नेपालले लगातार आठौं एकदिवसीय हार बेहोरेको छ भने लिग–२ अन्तर्गत विदेशमा खेलेका २० खेलमध्ये यो १४औं हार हो। गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग चारवटै खेल गुमाएको थियो।
अंक तालिकामा ३२ खेलबाट ११ जित, १९ हार र दुई खेलको नतिजाविहीन अवस्थासहित नेपाल २४ अंक जोडेर छैटौं स्थानमै कायम रहेको छ। शीर्ष तीनमा रहेका टोलीसँगको दूरी बढ्दै जाँदा नेपालमाथि आगामी शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने दबाब थपिएको छ। नेदरल्यान्ड्स भने ३१ खेलबाट ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। समान ३८ अंक रहेको स्कटल्यान्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ भने अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा रहेको छ।
यस खेलमा नेपालले अनुभवी बलर सोमपाल कामी र सन्दीप लामिछानेलाई प्लेइङ–११ बाहिर राख्ने निर्णय गरेको थियो। तर टोलीले सुरुआत भने निकै उत्कृष्ट गरेको थियो। करण केसीले खेलको पहिलो बलमै सेड्रिक डी लांगेलाई आउट गर्दै नेपाललाई स्वर्णिम सुरुआत दिलाए। भ्रमणमा पहिलो पटक मौका पाएका हेमन्त धामीले अर्का ओपनर म्याक्स ओ’डडलाई १२ रनमा पेभिलियन फर्काए।
करणले त्यसपछि ज्याच लिओन क्याचेटलाई १६ रनमा आउट गरे भने ललित राजवंशीले बास डे लिडलाई १३ रनमा बोल्ड गरेपछि १७.१ ओभरमा नेदरल्यान्ड्स ५६ रनमा ४ विकेट गुमाएर दबाबमा परेको थियो। तर त्यही अवस्थाबाट कप्तान स्कट इडवार्डस र नोह क्रोजले संयमित तथा जिम्मेवार ब्याटिङ गर्दै पाँचौं विकेटका लागि १ सय १५ रनको महत्त्वपूर्ण साझेदारी गरे, जसले खेलको दिशा नै परिवर्तन गरिदियो।
इडवार्डसले ९१ बलमा ३ चौकासहित ५७ रनको कप्तानी इनिङ्स खेले भने नोह क्रोजले ९३ बलमा ३ चौका प्रहार गर्दै ७० रन बनाए। तल्लोक्रममा लोगन भान बिकले २७ रनको उपयोगी योगदान दिएपछि नेदरल्यान्ड्स सम्मानजनक स्कोरमा पुग्न सफल भयो।
नेपालका लागि करण केसी पुनः उत्कृष्ट बलर सावित भए। उनले १० ओभरमा २ मेडन राख्दै मात्र ३० रन खर्चेर ४ विकेट लिए। अघिल्लो खेलमा नामिबियाविरुद्ध पनि पाँच विकेट लिएका करणले आफ्नो लयलाई निरन्तरता दिएका हुन्। दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट हात पारे।
२ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले भने फेरि पनि खराब सुरुआत गर्यो। इनिङ्सको तेस्रो बलमै ओपनर कुशल भुर्तेल शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो। त्यसपछि भीम सार्की १०, इशान पाण्डे १६ तथा अन्य ब्याटर पनि ठूलो साझेदारी गर्न असफल भए।
ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ७८ बल खेलेर दुई चौका प्रहार गरे। कप्तान रोहित पौडेलले ३८ बलमा २६ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। दीपेन्द्रसिंह ऐरी ६, आरिफ शेख १८, गुलशन झा ११ रनमा आउट भए। करण केसीले दुई छक्का प्रहार गर्दै २३ रनको संघर्षपूर्ण इनिङ्स खेले भने हेमन्त धामी १५ रनमा अविजित रहे। तर अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा नेपाल ४८ ओभरमै अलआउट भयो।
नेदरल्यान्ड्सका बलर केयल क्लाइनले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। लोगन भान बिक, रोइलोफ भान डेर मर्वे र क्याचेटले समान दुई–दुई विकेट लिए भने आर्यन दत्तले एक विकेट हात पारे।
लगातार चार हारसँगै नेपालको लिग–२ अभियान थप चुनौतीपूर्ण बनेको छ। ब्याटिङको अस्थिरता, साझेदारीको अभाव र महत्त्वपूर्ण क्षणमा अवसर सदुपयोग गर्न नसक्नु नेपाली टोलीका प्रमुख कमजोरीका रूपमा देखिएका छन्।