आइची–नागोया एसियाली खेलकुदमा सहाभागी हुने टोलीलाई अभिमुखीकरण कार्यक्रम

काठमाडौं , साउन १२ गते ।

आइची–नागोया एसियाली खेलकुदका सहभागीहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आइची–नागोया एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मङगलबार एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले कार्यक्रमको उद्घाटन गर्नुहुँदै खेलकुदमा संलग्न सबैका लागि सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सिर्जना गर्नुपर्ने महत्त्वमा जोड दिनुभयो।
अभिमुखीकरणमा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, सदस्यदय प्रतिभा जोशी र डा. प्रमिला थापाले सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँहरूले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीडन र दुव्र्यवहारको रोकथाम, खेलाडीहरूको अधिकार र कल्याणको संरक्षण र सुरक्षित खेलकुद वातावरण प्रवद्र्धनमा खेलाडी, प्रशिक्षक, प्रबन्धक र अधिकारीहरूको सामूहिक जिम्मेवारीमाथि छलफल गर्नुभएको हो ।
सो कार्यक्रममा एनओसीका सह महासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी आइची–नागोया एसियाली खेलकुदको लागि नेपालको सुरक्षा अधिकारीको नियुक्त गरिएको जानकारी पनि दिईएको थियो ।
सो कार्यक्रमको पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, धनुर्विद्या, कबड्डी र टेबल टेनिसका प्रशिक्षक, प्रबन्धक र खेलाडीहरूको उपस्थिति रहेको थियो ।
दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधि सहभागी थिए । एनओसीले यस अभिमुखीकरण कार्यक्रमको उदेश्य आइची–नागोया एसियाली खेलकुदमा प्रस्थान गर्नु अघि नेपालको टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको बताएको छ ।
एनओसीका अनुसार बाँकी खेलका लागि पनि यस्तै सत्र सञ्चालन गरिनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ