पहिलो पटक हुँदै ‘नेपाल टप–१६ ग्रान्ड मास्टर्स स्नूकर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म स्नूकरको विकास गर्ने लक्ष्य

काठमाडौं, साउन ११ गते ।
नेपालमा स्नूकर खेलको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडी तयार गर्ने उद्देश्यका साथ काठमाडौं खेल मण्डल (एन.आर.टी.) ले पहिलो पटक ‘नेपाल टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप–२०८३’ आयोजना गर्ने भएको छ। नेपाल बिलियर्ड्स, स्नूकर तथा पुल संघको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताबारे काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो।

कार्यक्रमको प्रारम्भमा प्रतियोगिताका संयोजक राजेन्द्र शाक्यले स्वागत मन्तव्य राख्दै नेपालमा स्नूकर खेलप्रतिको आकर्षण पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको बताउनुभयो। उहाँले प्रतियोगिताले उत्कृष्ट खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। यस्ता प्रतियोगिताले नेपाली स्नूकरलाई थप व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बिलियर्ड्स, स्नूकर तथा पुल संघका अध्यक्ष सरोज मुल्मीले नेपालमा स्नूकर खेलको स्तर निरन्तर उकास्दै राष्ट्रिय सीमाबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो। उहाँले आगामी दिनमा खेलाडी उत्पादन, नियमित प्रतियोगिता आयोजना तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानमा जोड दिइने जानकारी दिनुभयो। साथै, नेपाली स्नूकर खेलाडीहरू छिट्टै भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जानकारी समेत उहाँले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभयो।

त्यसैगरी, काठमाडौं खेल मण्डल (एन.आर.टी.) का महासचिव सतीशकृष्ण श्रेष्ठले ‘नेपाल टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप–२०८३’ को उद्देश्य, प्रतियोगिताको स्वरूप, खेल तालिका तथा पुरस्कार व्यवस्थाबारे विस्तृत जानकारी गराउनुभयो। उहाँका अनुसार प्रतियोगितामा देशका उत्कृष्ट १६ जना ग्रान्ड मास्टर्स स्नूकर खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता साउन १३ गते बिहान ९ बजेदेखि काठमाडौं खेल मण्डल परिसरमा सुरु हुनेछ भने फाइनल खेल साउन २३ गते सम्पन्न हुनेछ। सम्पूर्ण खेलहरू एन.आर.टी.को आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

यसैगरी, काठमाडौं खेल मण्डल (एन.आर.टी.) का अध्यक्ष सुन्दर नरसिंह जोशीले संस्थाले विगत नौ दशकदेखि नेपाली खेलकुदको विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सम्बन्धित निकाय, प्रायोजक तथा खेलप्रेमीको साथ र सहयोग प्राप्त भए स्नूकरसहित अन्य खेलकुद गतिविधिलाई निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले नेपाली खेलाडीको क्षमता अभिवृद्धि मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद जगतमा चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

वि.सं. १९९१ (सन् १९३४) मा स्थापना भएको काठमाडौं खेल मण्डल (एन.आर.टी.) नेपाली खेलकुदको पुरानो तथा प्रतिष्ठित संस्थामध्ये एक हो। फुटबल, क्रिकेट, भलिबल, स्नूकर, टेबल टेनिसलगायत विभिन्न खेलको विकास र प्रवर्द्धनमा संस्थाले निरन्तर योगदान दिँदै आएको छ। यही गौरवपूर्ण इतिहासलाई निरन्तरता दिँदै यसपटक स्नूकरको उच्चस्तरीय राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ सहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ५१ हजार र ट्रफी हात पार्नेछन्। सेमिफाइनलमा पुग्ने दुई खेलाडीलाई जनही रु. २५ हजार सहित ट्रफी प्रदान गरिनेछ। यस्तै, प्रतियोगितामा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई नगद रु. २५ हजार तथा ८० अंकभन्दा बढीको हाइएस्ट ब्रेक बनाउने खेलाडीलाई नगद रु. २० हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाली स्नूकरलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षासहित आयोजना हुन लागेको ‘नेपाल टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप–२०८३’ ले राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सक्षम खेलाडी उत्पादन गर्ने आधार पनि तयार गर्ने विश्वास आयोजकले लिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ