
काठमाडौँ, साउन ६ गते।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को सर्बियामा भएको साधारण सभा तथा निर्वाचनबाट नेपालका राजकुमार कार्की दोश्रोपटक कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । सर्बियाका जेल्ज्को तानास्कोभिक अध्यक्षमा चयन भए ।
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासविच कार्कीसहित कार्यकारी १४ सदस्य पदका लागि २४ राष्ट्रका त्यत्तिनै उम्मेदवारले उम्मेदवारी दिएका थिए । कार्कीले ७० प्रतिशत मत हासिल गरे । कार्कीले निर्वाचित मध्ये आफूले दोश्रो उच्च मत प्राप्त गरेको बताए ।
सन् २०१८ देखि हालसम्म आईएसएफ टेक्निकल कमिसनअन्तर्गत तेक्वान्दोका अध्यक्ष समेत रहेका कार्की ४ वर्षका लागि निर्वाचित भएका हुन् ।
पुनः निर्वाचित भएपछि कार्कीले यो आफ्नो व्यावसायिक जीवनकै ठूलो सम्मानमध्ये एक भएको बताउदै नेपाल र सम्पूर्ण नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताए ।
कार्कीले आफूलाई विश्वास, भरोसा र अमूल्य समर्थन प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यकालमा इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।