
काठमाडौँ, साउन ४ गते ।
अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले हराउँदै विश्वकप २०२६ को उपाधि कब्जा, रोड्री बने गोल्डेन बल विजेता
फेरान टोरेजले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ को उपाधि जितेको छ। आइतबार राति अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यही अतिरिक्त समयमा स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका टोरेजले गरेको गोल स्पेनलाई दोस्रो पटक विश्वविजेता बनाउन पर्याप्त बन्यो।
स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकपको ट्रफी उचाल्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो स्वर्णिम युगलाई थप मजबुत बनाएको छ। उपाधिसँगै स्पेनले ५१ मिलियन अमेरिकी डलर पुरस्कार पनि प्राप्त गरेको छ भने उपविजेता अर्जेन्टिनाले ३४ मिलियन अमेरिकी डलरमा चित्त बुझाएको छ।
विश्वकपको उपाधि जितेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्नुभयो। अमेरिका, क्यानडा र मेक्सिकोमा करिब पाँच सातासम्म सञ्चालन भएको विश्वकपको २३औँ संस्करण स्पेनको ऐतिहासिक सफलतासँगै सम्पन्न भएको हो।
स्पेनका प्रशिक्षक लुइस डी ला फुएन्टेका लागि पनि यो उपलब्धि विशेष रह्यो। उहाँको नेतृत्वमा स्पेनले यसअघि सन् २०२३ मा युइएफए नेसन्स लिग र सन् २०२४ मा युरोपियन च्याम्पियनसिप जितिसकेको थियो। विश्वकप उपाधिसँगै उहाँको नेतृत्वमा स्पेनले अन्तर्राष्ट्रिय फुटबलका तीन प्रमुख उपाधि आफ्नो नाममा लेखाएको छ।
अर्कोतर्फ अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने सपना भने अधुरै रह्यो। यस जितसँगै अर्जेन्टिनाले चौथो विश्वकप उपाधि जित्दै ब्राजिलको चार विश्वकप उपाधिको कीर्तिमान बराबरी गर्ने अवसर गुमाएको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २००२ मा विश्वकपको उपाधि जितेको थियो।
फाइनल खेलमा सुरुदेखि नै स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब कायम राखेको थियो। स्पेनले अर्जेन्टिनाको पोस्टतर्फ लक्षित २० प्रहार गरेको थियो भने अर्जेन्टिनाले स्पेनको पोस्टमा पहिलो लक्षित प्रहार नै अतिरिक्त समयमा मात्र गर्न सकेको थियो। खेलभर स्पेनले सिर्जना गरेको निरन्तर दबाबका बाबजुद अर्जेन्टिनाका गोलरक्षक इमिलियो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै धेरै अवसर विफल पारेका थिए।
निर्धारित समयको इन्जुरी समयमा अर्जेन्टिनाले ठूलो झट्का बेहो¥यो। मिडफिल्डर इन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्न बाध्य हुनुभयो। त्यसपछि अर्जेन्टिना बाँकी खेल १० खेलाडीमा सीमित भयो। विश्वकप फाइनलमा रातो कार्ड पाउने उहाँ छैटौँ खेलाडी बन्नुभयो।
रातो कार्डपछि स्पेनले झनै आक्रामक खेल प्रदर्शन गर्यो। लामिने यमालको आकर्षक फ्रिकिक अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले उत्कृष्ट ढङ्गले बचाएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको सातौँ मिनेटमा निको विलियम्सले बल जाली चुमाए पनि रेफ्रीले फाउलको सङ्केत गरेपछि उक्त गोलले मान्यता पाएन।
तर स्पेनले लगातार दबाब कायम राख्यो। खेलको १०६औँ मिनेटमा निको विलियम्सले बायाँतर्फबाट उत्कृष्ट कटब्याक पास उपलब्ध गराएपछि स्थानापन्न खेलाडी फेरान टोरेजले एक स्पर्शमै बललाई जाली चुमाउँदै स्पेनलाई अग्रता दिलाउनुभयो। अन्तिम समयसम्म अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरे पनि स्पेनको संगठित रक्षापङ्क्तिले सबै आक्रमण विफल पार्दै उपाधि सुनिश्चित गर्यो।
यस विश्वकपभर स्पेनले असाधारण प्रदर्शन गरेको थियो। आठ खेलको यात्रामा स्पेनले केवल एक गोल मात्र बेहोरेको कीर्तिमान बनाएको छ, जुन विश्वकप इतिहासमै सबैभन्दा कम गोल खाएर च्याम्पियन बन्ने उपलब्धि हो। स्पेनको पुरुष टोली मात्र होइन, महिला टोली पनि हाल विश्व तथा युरोपेली च्याम्पियन रहेकाले स्पेनी फुटबल विश्व फुटबलको सबैभन्दा बलियो शक्तिका रूपमा स्थापित भएको छ।
यस जितसँगै स्पेनको अपराजित यात्रा ३९ खेल पुगेको छ। यस अवधिमा स्पेनले २९ खेलमा जित र नौ खेल बराबरी खेलेको छ, जसले टोलीको निरन्तर उत्कृष्ट प्रदर्शनलाई पुष्टि गरेको छ।
उपाधिसँगै आकर्षक पुरस्कार
विश्वविजेता स्पेनले ट्रफीसहित ५१ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो। उपविजेता अर्जेन्टिनाले ३४ मिलियन अमेरिकी डलर हात पार्दा तेस्रो भएको इङ्ग्ल्यान्डले ३० मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले २८ मिलियन अमेरिकी डलर प्राप्त गरे। पाँचौँदेखि आठौँ स्थानसम्मका टोलीले २० मिलियन अमेरिकी डलर, नवौँदेखि १६औँ स्थानसम्मका टोलीले १६ मिलियन अमेरिकी डलर, १७औँदेखि ३२औँ स्थानसम्मका टोलीले १२ मिलियन अमेरिकी डलर तथा समूह चरणबाट बाहिरिने प्रत्येक टोलीले १० मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए।
विश्वकप २०२६ का प्रमुख व्यक्तिगत पुरस्कार
गोल्डेन बल (सर्वश्रेष्ठ खेलाडी) : रोड्री (स्पेन)
गोल्डेन ग्लोभ्स (सर्वश्रेष्ठ गोलरक्षक) : उनाइ सिमोन (स्पेन)
सर्वश्रेष्ठ युवा खेलाडी : पाउ कुबार्सी (स्पेन)
गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) : किलियन एम्बापे (फ्रान्स) – १० गोल
फेरान टोरेजको करिअरकै सबैभन्दा महत्त्वपूर्ण गोलले स्पेनलाई पुनः विश्व फुटबलको शिखरमा पुर्याएको छ। सामूहिक खेल, सुदृढ रक्षापङ्क्ति र उत्कृष्ट रणनीतिक अनुशासनका बलमा स्पेनले विश्व फुटबलमा नयाँ इतिहास रच्दै दोस्रो पटक विश्वकप ट्रफी आफ्नो नाममा लेखाएको छ।