
काठमाडौं, साउन २ गते।
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि शनिबार राति हुने फ्रान्स र इङ्ग्ल्यान्डबीचको प्रतिस्पर्धाले दुई युरोपेली शक्तिराष्ट्रलाई अन्तिम पटक आफ्नो प्रतिष्ठा जोगाउने अवसर प्रदान गरेको छ। विश्वकपको उपाधि जित्ने सपना सेमिफाइनलमै चकनाचुर भएपछि मानसिक र शारीरिक रूपमा थाकेका दुवै टोली अब कांस्य पदक जितेर प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन्।
विश्वकपमा तेस्रो स्थानका लागि हुने खेललाई प्रायः खेलाडी र प्रशिक्षकले खेल्न नचाहने खेलका रूपमा लिने गर्छन्। फाइनल खेल्ने लक्ष्य राखेका टोलीहरू अन्तिम चारबाट बाहिरिएपछि निराशाबीच मैदान उत्रनुपर्ने अवस्था आउँछ। यद्यपि, विश्व फुटबलमा प्रतिष्ठा, विश्व वरीयता, इतिहास र समर्थकको सम्मानका लागि यो खेल उत्तिकै महत्वपूर्ण मानिन्छ।
यस संस्करणमा उपाधिको बलियो दाबेदार मानिएको फ्रान्स सेमिफाइनलमा स्पेनसँग २–० गोलले पराजित भएपछि फाइनल यात्रा टुंगिएको थियो। प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेको फ्रान्स स्पेनविरुद्ध भने आफ्नो लय समात्न सकेन। अर्कोतर्फ, इङ्ग्ल्यान्ड अर्जेन्टिनासँगको रोमाञ्चक सेमिफाइनलमा निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदासम्म अग्रता जोगाइरहे पनि अन्तिम समयमा खेल गुमाउँदै उपाधि यात्राबाट बाहिरिएको थियो।
इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेलप्रति खेलाडीहरूको मानसिक अवस्था प्रष्ट पार्दै भन्नुभएको छ, “मेरा कुनै पनि खेलाडी यो खेल खेल्न चाहँदैनन्। सम्भवतः फ्रान्सका खेलाडीहरूको अवस्था पनि त्यस्तै छ। सबैको सपना फाइनल खेल्ने थियो।”
उता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि आफूले तेस्रो स्थानको खेल खेल्नुपर्ने अवस्था आउला भन्ने नसोचेको बताउँदै वास्तविकतालाई स्वीकार गरेर अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
डेसच्याम्पका लागि भावुक बिदाइ
फ्रान्सका लागि यो खेल विशेष बन्नुको प्रमुख कारण प्रशिक्षक डिडियर डेसच्याम्पको बिदाइ हो। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक मानिने डेसच्याम्पले यस खेलपछि फ्रान्सको राष्ट्रिय टोलीबाट औपचारिक रूपमा बिदा लिने तय भएको छ।
सन् २०१२ मा फ्रान्सको जिम्मेवारी सम्हालेपछि उहाँले टोलीलाई पुनः विश्व फुटबलको शीर्ष शक्तिमा स्थापित गर्न सफल हुनुभएको थियो। कप्तानका रूपमा सन् १९९८ मा फ्रान्सलाई पहिलो विश्वकप उपाधि दिलाएका डेसच्याम्पले प्रशिक्षकका रूपमा सन् २०१८ मा फेरि विश्व विजेता बनाउँदै दुर्लभ कीर्तिमान कायम गर्नुभयो। उहाँको नेतृत्वमा फ्रान्सले विश्व फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
यसपटक पनि फ्रान्स उपाधिको प्रमुख दाबेदारका रूपमा मैदानमा उत्रिएको थियो। तर सेमिफाइनलमा स्पेनविरुद्धको एउटा कमजोर प्रदर्शनले सबै सपना समाप्त भयो। त्यसका बाबजुद १४ वर्षसम्म फ्रान्सेली फुटबललाई नयाँ उचाइमा पुर्याउने डेसच्याम्पलाई देशका सर्वाधिक सफल प्रशिक्षकमध्ये एकका रूपमा सदैव सम्झिने विश्वास गरिएको छ। उहाँको नाममा प्रशिक्षकका रूपमा सबैभन्दा बढी विश्वकप खेलमा टोलीको नेतृत्व गर्ने कीर्तिमानसमेत रहेको छ।
टुचेलमाथि बढ्दो दबाब
इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेल भने अहिले तीव्र दबाबमा हुनुहुन्छ। अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा अग्रता लिएपछि टोलीलाई अत्यधिक रक्षात्मक शैलीमा खेलाएको भन्दै उहाँको रणनीतिको व्यापक आलोचना भइरहेको छ।
इङ्ग्ल्यान्डले सन् १९६६ मा घरेलु भूमिमा विश्वकप जितेपछि फेरि उपाधि हात पार्न सकेको छैन। पछिल्ला दशकहरूमा पटक–पटक बलियो टोली बनाएको भए पनि निर्णायक क्षणमा असफल हुँदै आएको छ। सन् १९९० र २०१८ को विश्वकपमा पनि इङ्ग्ल्यान्डले तेस्रो स्थानको खेल खेलेको थियो, तर क्रमशः इटाली र बेल्जियमसँग पराजित हुँदै कांस्य पदकबाट वञ्चित बनेको थियो।
यसपटक भने तेस्रो प्रयासमा पहिलोपटक विश्वकपको कांस्य पदक जित्ने लक्ष्यसहित इङ्ग्ल्यान्ड मैदानमा उत्रनेछ।
गोल्डेन बुटको होडमा एम्बापेको अन्तिम अवसर
फ्रान्सका कप्तान तथा स्टार फरवार्ड किलियन एम्बापेका लागि पनि यो खेल विशेष महत्वको छ। गोल्डेन बुट जित्ने दौडमा रहेका एम्बापेसँग लगातार दोस्रो विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ।
हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी आठ गोल र चार असिस्टसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा रहनुभएको छ। एम्बापेले पनि आठ गोल गरिसक्नुभएको भए पनि एक असिस्ट कम भएकाले दोस्रो स्थानमा हुनुहुन्छ। त्यसैले इङ्ग्ल्यान्डविरुद्धको खेलमा गोल गर्न सके उहाँ गोल्डेन बुट जित्ने बलियो दाबेदार बन्न सक्नुहुन्छ।
एम्बापेसँग विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने अवसरसमेत रहेको छ। उहाँले हालसम्म विश्वकपमा २१ गोल गरिसक्नुभएको छ र मेसीभन्दा केवल एक गोलले पछाडि हुनुहुन्छ।
यता इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घमले समान ६ गोल गरेका छन् भने फ्रान्सका ओसमान डेम्बेलेको नाममा पाँच गोल रहेको छ। यद्यपि गोल्डेन बुट जित्न यी खेलाडीहरूले अन्तिम खेलमा असाधारण प्रदर्शन गर्नुपर्ने देखिन्छ।
इतिहास इङ्ग्ल्यान्डको पक्षमा, पछिल्लो लय फ्रान्सको
फ्रान्सले हालसम्म १६ पटक विश्वकप खेलेको छ। टोलीले सन् १९९८ र २०१८ मा विश्वकप जितेको छ भने २००६ र २०२२ मा उपविजेतामा सीमित भएको थियो। साथै १९५८ र १९८६ मा तेस्रो तथा १९८२ मा चौथो स्थान हासिल गरेको इतिहास छ।
फ्रान्स र इङ्ग्ल्यान्डबीच हालसम्म ३२ अन्तर्राष्ट्रिय भेट भएका छन्। जसमा इङ्ग्ल्यान्डले १७ खेल जितेको छ भने फ्रान्स १० खेलमा विजयी भएको छ। पाँच खेल बराबरीमा सकिएका छन्।
यद्यपि पछिल्ला वर्षहरूको प्रदर्शन हेर्दा अवस्था फरक देखिन्छ। फ्रान्सविरुद्धको पछिल्ला १० खेलमध्ये इङ्ग्ल्यान्डले केवल दुई खेल जितेको छ। विश्वकपको अघिल्लो संस्करणमा पनि फ्रान्सले क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर्याएको थियो।
यस कारण शनिबार रातिको भिडन्त केवल कांस्य पदकका लागि मात्र होइन, विगतको हारको बदला, प्रतिष्ठाको रक्षा र विश्व फुटबलमा आफ्नो शक्ति प्रमाणित गर्ने अवसरका रूपमा पनि हेरिएको छ। दुवै टोली उपाधि जित्ने लक्ष्यबाट चुके पनि प्रतियोगिताको अन्त्य जितका साथ गर्न चाहन्छन्। त्यसैले विश्वभरका फुटबल समर्थकको ध्यान यस रोमाञ्चक युरोपेली प्रतिस्पर्धामाथि केन्द्रित हुनेछ।