सूर्य नेपाल प्रिमियर गल्फकाे उपाधि सुबाशलाई

काठमाडौं असार ५ गते ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले-अफमा जितेका छन्। प्ले-अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन्। उनले उपाधिसँगै ३ लाख २० हजार नगद पुरस्कार जिते।

सुबाश, भुवन र सदभाव तीनै जनाले ७२ होलको खेल समग्रमा १८-अन्डर २ सय ७० मा सकाए। यो सँगै खेलको निर्णय प्ले-अफबाट भयो। प्ले-अफमा सुबाशले पार खेले। भुवन र सदभाव दुवैले पार पट मिस गरे। यो सँगै सुबाश च्याम्पियन बने। भुवन दोस्रो भए। उनले नगद २ लाख ६ हजार पाए।

सुबाशले आज ३-अन्डर ६९ खेले। तेस्रो होलको बोगीका विरूद्ध सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन-पार ३६ खेले।यसपछि ११ औं देखि १३ औं होलसम्म तीन बर्डी सहित ३-अन्डर ३३ मा सकाए।

भुवनले ४-अन्डर ६८ मा खेल पुरा गरे। दोस्रो होलमा बोगी खेलेका उनले तेस्रो,चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। यसपछि ११ औं र १७ औं होलमा बर्डी प्रहार गर्दा डबल बोगी खेल्दै इभन-पार ३६ खेले।

सदभावले आज दिनकै उत्कृष्ट ६-अन्डर ६६ को स्कोर कार्ड तयार पारे। उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ खेले। उनले तेस्रो, छैटौं, नवौं, १२ औं, १६ औं र १८ औं होलमा बर्डी प्रहार गरे। यो उत्कृष्ट स्कोरमा प्ले अफमा पुगेका सदभाव एमेच्योरतर्फ विजेता बने। उनले राहुल विश्वकर्मालाई ८ स्ट्रोकले हराए।

आज फाइनल ग्रुपमा खेलेका शुक्र बहादुर राई समग्रमा १५-अन्डर २ सय ७३ सहित चौथो भए। आज ३-अन्डर ७९ मा खेल पुरा गरे। प्रोतर्फ तेस्रो भएका उनले १ लाख ६२ हजार हात पारे।

साबिक विजेता राहुल समग्रमा १०-अन्डर २ सय ७८ को स्कोरमा पाँचौं भए। उनले अन्तिम दिनको खेल इभन-पार ७२ खेले। एमेच्योरतर्फ उनी दोस्रो भए। एमेच्योर तेन्जिङ छिरिङ्ग समग्रमा ७-अन्डर २ सय ८१ सहित सातौं स्थानमा खेल सकाए। एमेच्योरतर्फ उनी तेस्रो भए।

समग्रमा ३-अन्डर २ सय ८५ सहित दिनेश प्रजापति सातौं भए। प्रोतर्फ चौथो भएका उनले १ लाख ४५ हजार हात पारे। समग्रमा १-अन्डर २ सय ८७ सहित एमेच्योर वाङचेन ढोन्डुप आठौं भए। नेपाल नम्बर एक प्रो निरज तामाङ नवौं भए। उनले इभन-पार २ सय ८८ मा यो प्रतियोगिता पुरा गरे। प्रोतर्फ पाँचौं भएका उनले १ लाख २८ हजार नगद पुरस्कार पाए।‌

समग्रमा १-ओभर २ सय ८९ सहित प्रोहरू भुवन कुमार रोक्का, तोरण विक्रम शाही, सञ्जय लामा तथा एमेच्योरहरू नोर्बु छिरिङ्ग शेर्पा र रितेश तामाङले समग्रमा दशौं स्थान बाँडे। प्रोतर्फ भुवन, तोरण र सञ्जय प्रोतर्फ छैटौं भए। उनीहरूले जनही ९६ हजार ३ सय ३३ नगद पुरस्कार हात पारे।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर गौरव तयाल र एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे। कुल १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष १८ जना प्रोले नगद पुरस्कार प्राप्त गरे।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ को आठवटा प्रतियोगिता सकिएसँगै आगामी सिजन भुवन नगरकोटी नम्बर एक खेलाडी हुने भएका छन्। उनले यो सिजन कुल १० लाख ३३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यो क्रममा उनले ४ प्रतियोगिताको उपाधि जिते।

कुल ७ लाख २७ हजार ३ सय ३३ नगद पुरस्कार जित्दै नम्बर अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहे। दिनेश प्रजापति तेस्रो, जयराम श्रेष्ठ चौथो र सञ्जय लामा क्रमश तेस्रो, चौथो र पाँचौं स्थान रहे। दिनेशले ६ लाख २९ हजार ८ सय ३३, जयरामले ५ लाख ११ हजार ५ सय र सञ्जयले ४ लाख ७८ हजार ३ सय ३३ नगद पुरस्कार पाए।

सिजनको कुल ८० लाख नगद पुरस्कार राशी रहेको यो सिजन कुल ३६ प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ