सूर्य नेपाल गल्फमा सुवास तामाङ शीर्ष स्थानमा

काठमाडौँ, असार ४ गते ।

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सुवास तामाङ शीर्ष स्थानमा पुगेका छन्।

बिहीबार गोकर्ण गल्फ क्लबमा भएको खेलमा सुवास तामाङले बोगी-रहित ७-अन्डर ६५ कार्ड दिएर ५४-होलको कुल स्कोर १५-अन्डर २०१ बनाए। उनी भुवन नगरकोटीभन्दा एक स्ट्रोक अगाडि छन्। भुवनले तेस्रो राउन्डमा १ अन्डर ७१ को कार्ड दिए र कुल स्कोर १४ अन्डर २०२ बनाए।

अर्का खेलाडी शुक्र बहादुर राई र एमेच्योर गल्फर सद्भाव आचार्य १२ अन्डर २०४ को स्कोरमा संयुक्त रूपमा तेस्रो स्थानमा छन्। शुक्रले लगातार तेस्रो पटक ४ अन्डर ६८ को कार्ड दिए भने सद्भावले १ अन्डर ७१ खेले। डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर राहुल विश्वकर्मा ४ अन्डर ६८ कार्ड दिएपछि १० अन्डर २०६ को स्कोरमा पाँचौं स्थानमा छन्।

एमेच्योर गल्फर तेन्जिङ छिरिङ ७-अन्डर २०९ मा छैटौं स्थानमा छन् भने अर्का एमेच्योर वाङ्चेन धोन्डुप ५-अन्डर २११ मा सातौं स्थानमा छन्। तेन्जिङ र वाङ्चेन दुवैले तेस्रो राउन्डमा २-अन्डर ७० कार्ड बनाए। दिनेश प्रजापति २-अन्डर २१४ मा आठौं स्थानमा छन् भने निरज तामाङ र संजय लामा १-अन्डर २१५ मा नवौं स्थानमा छन्। दिनेश र निरजले १-अन्डर ७१ कार्ड बनाए भने संजयले १-ओभर ७३ खेले।

सिजनको सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गरी ६८ खेलाडीले सहभागिताका जनाएका छन् ।

विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ