काठमाडौँ, जेठ २५ गते ।
ललितपुरको सातदोबाटोमा जारी २७औँ पुरुष तथा २६ औँ महिला राष्ट्रिय सुटिङ च्याम्पियनसिप–२०८३ व्यक्तिगत अन्तर्गत एयर राइफल महिलामा फूलमाया क्याप्छाकीले स्वर्ण जितेकी छिन्।
प्रतियोगितामा रेनु कोलीले रजत पदक प्राप्त गरिन् भने राधा गुरुङले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्न सफल भइन्।
त्यस्तै एयर पेस्तोलतर्फ हिमा चौधरीले स्वर्ण जितेकी छिन्। सिमा कुमारी तुलाधरले रजत पदक जित्दा राधा घर्तीले कांस्यमै चित बुझाइन्।
पुरुषतर्फ एयर राइफल अन्तर्गत विनोद बस्नेतले स्वर्ण जितेका छन्। प्रतियोगितामा सुनिल चन्दले रजत जितेका छन् भने विशाल पौडेलले कांस्य जितेका छन्। त्यसैगरी एयर पेस्तोलतर्फ विपेश खड्काले स्वर्ण जित्दा शुकदेव चौधरीले रजत जितेका छन्। मान बहादुर घलले भने कांस्यमै चित बुझाएका छन्। एयर पेस्तोलतफ स्वर्ण जितेका विपेश खड्काले नयाँ रेकर्ड समेत राखेका छन्।
योसँगै प्रतियोगितामा एयर राइफल र पेस्तोलको व्यक्तिगत र मिक्स टिमगरी ४ वटा स्वर्ण जित्दै नेपाल आर्मी पहिलो भएको छ। त्यस्तै बागमती प्रदेशले ३ वटा स्वर्ण जितेको छ भने नेपाल प्रहरीले एक वटा स्वर्ण जितेको छ।
प्रतियोगितामा विजयी खेलाडी तथा टोलीलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। योसँगै प्रतियोगितामा रेकर्ड ब्रेक गर्ने दुई जना खेलाडीलाई नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनही ५ हजार पुरस्कार स्वरुप दिएका छन् ।
त्यसैगरी सुटिङ संघ बागमती प्रदेशका अध्यक्ष राजु दर्शनले बागमती प्रदेशबाट स्वर्ण जित्ने ३ जना खेलाडीलाई जनही १० हजार दिएका छन्। त्यस्तै कास्य जित्ने २ खेलाडीलाई जनही ५ हजार दिएका छन्।
