काठमाडौं जेठ १७ गते ।
नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन् । संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । पुरुष÷महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जितेपनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई ११–५, १३–११, ११–८ र ११–१ ले पराजित गरे । राष्ट्रिय प्रतियोगिताको पुरुष सिंगल्समा संयोगको ठूलो उपलब्धी भनेको सेमिफाइनलसम्म पुग्नु हो । बागमती प्रदेशका रुविन महर्जन तथा सुदूरपश्चिम प्रदेशका हिमाल विष्ट तेश्रो भए ।
महिला सिंगल्समा योङगीले उपाधि यात्रा अवस्मरीण बनाइन् । राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै १८ वर्षीया योङगीले उपाधि जितेकी हुन् । योङगीले उपाधि भिडन्तमा शीर्ष २ वरीयताकी कोशी प्रदेशकी इभाना थापाको चुनौती ११–६, ८–११, १२–१०, ११–९ र ११–८ को सेटमा पन्छाइन् । समूह चरणको खेलमा पनि योङगीले इभानालाई हराएकी थिइन् ।
त्यसअघि योङगीले सेमिफाइनलमा शीर्ष वरीयताकी नौपटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठलाई ४–३ ले पाखा लगाएकी थिइन् । नवीतासहित प्रहरीकै रविना महर्जन तेश्रो बने ।
चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी÷नेपाल आर्मी÷एपीएफ) गरी १० टिमका १ सय १६ खेलाडीले सिनियर, जुनियर र क्याडेट गरी ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
यसअघि क्याडेट यु–१५ सिंगल्सको ब्वाइजमा एपीएफका निश्चल थापा र गल्र्समा नेपाल आर्मीकी सुरम्य शाक्य तथा जुनियर यु–१९ सिंगल्सको ब्वाइजमा नेपाल आर्मीका जयस्नु महर्जन र गल्र्समा प्रहरीकी प्राज्ना महर्जनले स्वर्ण जितेका थिए । पुरुष÷महिला टिम इभेन्टमा प्रहरी पहिलो भएको थियो । पुरुष डबल्समा बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी, महिला डबल्समा एपीएफकी अनिता महर्जन र दीक्षा दाहालको जोडी तथा मिक्स डबल्समा प्रहरीका संयोग र नविताको जोडी च्याम्पियन बनेका थिए ।
विजेतालाई बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, महासचिव कुवेरप्रकाश सिंह, कोषाध्यक्ष ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । राष्ट्रिय प्रतियोगिताको ४१ औं संस्करण पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका दौरान भएको थियो ।
