काठमाडौं जेठ १४ गते ।
एपीएफका निश्चल थापा र नेपाल आर्मीकी सुरम्य शाक्यले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको पहिलो दिन बिहीबार स्वर्ण जितेका छन् । क्याडेट यू–१५ अन्तर्गत सिंगल्सको ब्वाइजमा निश्चल र गर्ल्समा सुरम्यले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा निश्चलले गण्डकी प्रदेशका सुगम पौडेललाई ११–७, ६–११, ८–११, ११–५ र ११–९ को सेटमा पराजित गरे । लुम्बिनी प्रदेशका सुविन क्षेत्री तथा कोशीका गौतम तामाङ तेस्रो भए ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गर्ल्स फाइनलमा सुरम्यले नेपाल प्रहरीकी प्राज्ना महर्जनलाई १२–१०, ११–९ र ११–९ को सोझो सेटमा हराइन् । बागमती प्रदेशकी काभ्या शाक्य तथा एपीएफकी उरवी सुवाल तेस्रो बने ।
