राष्ट्रिय टेबलटेनिस अर्को साता

काठमाडौं जेठ ७ गते ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा पुरुष/महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ । जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

जुनियर खेलाडीले सिनियरबाट सिक्ने अवसर पाउन् भन्ने उद्देश्यले जुनियर र क्याडेटको प्रतिस्पर्धा पनि राष्ट्रिय प्रतियोगिताकै दौरान गर्न लागिएको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी/नेपाल आर्मी/एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट १० का दरले १ सय खेलाडी सहभागी हुने मुख्य प्रशिक्षक बासुकलाले जानकारी दिए ।

त्यसबाहेक सिनियरको पुरुष/महिलामा शीर्ष ८ स्थानमा रहेका खेलाडीले तहगत छनोट बिनै सोझै प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । १० टिमबाट १ सय र शीर्ष ८ स्थानमा रहेका पुरुष÷महिला गरी १६ सहित जम्मा १ सय १६ खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिए । जेठ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ