काठमाडौँ, फागुन १६ गते ।
प्रदीप खड्का र आयुशमान हजुर घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ तथा आयुशमानले निहालजंगबहादुर थापालाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरे । सोही स्पर्धामा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–१ र ६–१ तथा दर्शिल श्रेष्ठले प्रणव खनाललाई ३–६, ६–३ र ६–४ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा प्रदीप खड्का र प्रितम परियारको जोडीले निहालजंगबहादुर थापा र प्रणव मानन्धरको जोडीलाई ६–३, १–६ र ७–५, प्रणव खनाल र आयुशमान हजुर घलेको जोडीले राजवीर प्रधान र उगेन शेर्पाको जोडीलाई ६–३ र ६–२ को सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, भीष्मजंग गुरुङ, सन्तोष खत्री र दावा सोनाम शेर्पा सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको पुरुष डबल्समा भीष्मजंग गुरुङ र गगन महर्जन, निरज रेग्मी र इश्वर जिसी, सन्तोष खत्री र जुजुमन किम तथा जितेन्द्र परियार र छेवाङ लामाको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, उत्तम बोगटी, मच्छिन्द्र थापा र विमलकुमार गुरुङले सेमिफाइनलमा स्थान बनाए । उक्त स्पर्धाको पुरुष डबल्समा चन्द्र शाही र सोभित श्रेष्ठ, सागर केसी र निरञ्जनकुमार श्रेष्ठ, धर्म शाही र आशिष सिग्देल तथा मनु त्रिपाठी पृथ्वीमान गुरुङको जोडी सेमिफाइनलमा प्रवेश गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, देव क्षेत्री, अमितसिंह गुरुङ र रोहित सुनुवारले सेमिफाइनलमा स्थान बनाए । ७० वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकार र धीरबहादुर गुरुङले फाइनलमा स्थान निश्चित गरे ।
