काठमाडौं, बैशाख २ गते ।
आईसीसी वुमन्स च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
इन्दुको कप्तानीमा रुवान्डामा हुने च्यालेन्ज ट्रफीमा पूजा महतो उप कप्तानको जिम्मेवारीमा रहेकी छिन्। १४ सदस्यीय टोलीमा अनुभवी रुविना क्षेत्रीसँगै कविता जोशी,विन्दु रावल, सम्झना खड्का, रुबि पोदार, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय र रचना चौधरी रहेका छन्।
बिदाइ कार्यक्रममा कप्तान इन्दुले प्रतियोगिताका लागि आफू सम्पूर्ण रूपमा तयार रहेको बताइन् । विगतका खेलमा भएका कमीकमजोरी सुधार गर्दै जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने उनको भनाइ थियो ।
