संकटा क्लबले भन्यो: खेलाडीको श्रम स्वीकृतिमा सरकारी निकायले ढिला गर्‍यो 

काठमाडौँ, चैत ९ गते ।

संकटा फुटबल क्लबले लिग स्थगित हुँदा ठूलो आर्थिक लगानी जोखिममा परेको बताएको छ ।

क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै हाल उत्पन्न भएको विषम परिस्थितिका कारण क्लबले सीमित स्रोत र साधनबाट गरेको ठूलो आर्थिक लगानी जोखिममा परेको जनाएको हो ।

क्लबले श्रम स्वीकृति लिन आफूहरूलाई कुनै समस्या नभएको बताउँदै सरकारी प्रक्रियाकै कारण ढिलाइ भएको पनि बताएको छ। प्रतियोगिताको नियमावली अनुसार विदेशी खेलाडीहरूलाई विधिवत् अनुबन्ध गरी खेलाइएको क्लबको दाबी छ ।

 ‘विदेशी खेलाडीहरूको सहभागिता तथा श्रम स्वीकृति प्रक्रियालाई आधार मानी एन्फाबाट जारी गरिएको परिपत्र अनुसार, यस क्लबले आफ्ना विदेशी खेलाडीहरूको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरू प्रतियोगिता प्रारम्भ हुनु अघि नै एन्फामा पेस गरेको हो’ प्रेस विज्ञप्तिमा भनिएको छ ।

श्रम स्वीकृतिको बारेमा क्लबको दोषभन्दा पनि सरकारी निकाय र प्रक्रियाको दोष रहेको भन्दै सम्बन्धित निकायसँग छिटो छरितो तथा वान डोर प्रणालीबाट श्रम स्वीकृतिको कागज निकाल्न क्लबले  आग्रह गरेको छ।

क्लबहरूले श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको भन्दै चैत ५ गते अध्यागमन विभागले एन्फालाई पत्र काटेको थियो । त्यसपछि एन्फाले जारी महिला र पुरुषतर्फका दुवै लिग अनिश्चितकालका लागि स्थगित गरेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ