जेम्स र विश्वज्ञान प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
जेम्स र विश्वज्ञान क्रमशः समूह ‘ए’ को विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यससंगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा जेम्सको भेट ग्यालेक्सी पब्लिक स्कुलसंग हुनेछ भने विश्वज्ञानले अक्षराको सामना गर्ने छ ।
अघिल्लो दिन बिहीबार समूह ‘बी’ बाट अक्षरा विजेता र ग्यालेक्सी उपविजेताका हैसियतले सेमिफाइनल पुगेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा जेम्सले लिगका तीनै खेल जित्ने क्रममा विनायकलाई १० विकेट, विश्वज्ञानलाई ३४ रन र जनप्रेमी वल्र्ड स्कुललाई ३१ रनले पराजित गर्दै ६ अंक जोड्यो । ४ अंक जोडेको विश्वज्ञानले विनायकलाई ३० रन तथा जनप्रेमीलाई ४ विकेटले हरायो ।
मातृभूमि स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम दिन शनिबार सेमिफाइनल र फाइनल हुनेछ । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।

