काठमाडौँ, फागुन १२ गते ।
महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आउँदो फागुन ३० गते काठमाडौंमा ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुने भएको छ । लेजर पोर्ट नेपालले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
यस वर्षको ‘काठमाडौं पिंक केयरथन’मा करिब तीनदेखि पाँच हजार महिलारपुरुषको सहभागी रहने आयोजकको अपेक्षा छ ।
आयोजकका अनुसार, स्वास्थ्य–सचेत, उत्साहपूर्ण र समावेशी सहभागितामार्फत महिलाहरूको शारीरिक तथा मानसिक सुदृढतामा टेवा पुर्याउने विश्वास लिइएको छ ।
हाफ म्याराथनका विजेतालाई क्रमशः ५१ हजार, ३१ र २१ हजार प्रदान गरिनेछ भने १० किलोमिटर दौडका विजेतालाई पनि क्रमशः ३१ हजार २१ र ११ हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी अन्य विधाका विजेतालाई नगदबाहेक आकर्षक पुरस्कार प्रदान गरिनेछ।
लेजर पोर्ट नेपालले सन् २०१७ देखि २०१९ सम्म लगातार तीन वर्ष कार्यक्रम आयोजना गरेको थियो । त्यसपछि कोभिड–१९ महामारी तथा विभिन्न सामाजिक–आर्थिक कारणले केही समय कार्यक्रम स्थगित भएको थियो । सन् २०२४ मा पुनः आयोजना गरिएको ‘काठमाडौं पिंक केयरथन’ २०२५ मा सफलतापूर्वक सम्पन्न भएपछि २०२६ मा अझ व्यापक सहभागितासहित निरन्तरता दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
