काठमाडौँ, फागुन १० गते।
त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम अन्तर्गत अन्तर विद्यालय स्तरीय छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ।
चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा बास्केटबल प्रतियोगिता कीर्तिपुरमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम संयोजक प्राध्यापक पशुपति अधिकारीले खेलकुद विज्ञान विषय अध्ययन गरेका विद्यार्थीहरूले देशको खेलकुदको विकासमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जानकारी गराए।
छात्रा खेलाडीहरूका लागि आयोजना गरिएको सो कार्यक्रममा सहभागी विद्यालयहरूमध्ये काष्ठमण्डप स्कुलले प्रथम स्थान हासिल गरेको छ भने एभीएम स्कुलले दोस्रो स्थान र पुष्पसदन स्कुलले तेस्रो स्थान हासिल गरेका छन् । बुढानीलकण्ठ स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई आयोजकको तर्फबाट पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको उत्कृष्ट खेलाडीको उपाधि काष्ठमण्डप स्कुलकी साइरा बानियाँले जित्न सफल भएकी छिन् ।
