काठमाडौँ, फागुन ८ गते।
हिमालयन जाभा नेसनल बास्केटबल लिग आगामी चैत १० देखि वैशाख ११ सम्म आयोजना हुने भएको छ।
नेपाल बास्केटबल संघको आयोजनामा हुने प्रतियोगिता दशरथ रंगशाला कभर्ड हलमा सञ्चालन हुनेछ।
३२ दिने प्रतियोगितामा कुल ८ टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। जसमा आर्मी, काठमाडौँ भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीको सहभागिता रहनेछ।
लिगले डबल राउन्ड(रोबिन फर्म्याट अपनाउने छ, जसमा प्रत्येक टिमले एकअर्कासँग दुई पटक खेल्नेछन्। लिग चरणमा कुल ५६ खेल हुनेछन्। त्यसपछि प्लेअफ र फाइनलका लागि थप ४ खेल गरी जम्मा ६० खेल सञ्चालन हुनेछन्।
लिगको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक क्लबले फिबा नियमअनुसार अधिकतम २ जना विदेशी खेलाडी राख्न सक्नेछन्।
विजेता टिमले फिबा च्याम्पियनसिप खेल्ने अवसर प्राप्त गर्नेछ भने यो लिगको प्रदर्शनका आधारमा जुन महिनामा माल्दिभ्सको मालेमा हुने साबा च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली छनोट गरिनेछ।
लिगको मुख्य प्रायोजन हिमालयन जाभा रहेको छ भने एनसेल पावरबाइ प्रायोजक रहेको छ।
