काठमाडौँ
डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल विश्व मार्सल आर्ट्स कमिटीको आयोजनामा अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भई स्वदेश फर्किएका छन् ।
ब्रेगेन्जस्थित डब्लुएमएसीको प्रधान कार्यालय र होटेल लाममा कन्भेन्सनमा मार्सल आर्ट्सको विकास र प्रवर्द्धन, प्रतियोगिताको नयाँ नियम र प्रणाली, प्रतियोगिता तथा खेलाडी दर्ता सम्बन्धी विकसित नयाँ प्रविधि, प्रतियोगिता व्यवस्थापन, आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका विषयमा तालिम तथा सेसन सञ्चालन गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन अन्तर्राष्ट्रिय रेफ्री तालिम तथा परीक्षा सञ्चालन गरिएको थियो । त्यसमा डंगोलले एमएमए र किक बक्सिङको रेफ्री तालिममा सहभागी भएका थिए । परीक्षा उत्तीर्ण गरी राष्ट्रिय निर्णायकको लाइसेन्स समेत हासिल गरेको डंगोललेब बताए ।
कन्भेन्सनकै क्रममा बसेको राष्ट्रिय अध्यक्षहरूको बैठकमा डंगोलले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै डब्लुएमएसी नेपालको आगामी योजना समेत प्रस्तुत गरेको जनाइएको छ ।
नेपालमा मार्सल आर्ट्सको विकास र प्रवर्द्धनका निम्ति पु¥याएको योगदानको कदर गर्दै विश्व मार्सल आर्ट्स कमिटीले डंगोललाई सम्मान समेत गरेको बताइएको छ ।
