काठमाडौँ
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जापानको आइची र नागासाकीमा हुने एसियाली खेलकुदको प्रचारमा खेलकुद पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ । सातदोबाटोको ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता उपलब्धिमूलक हुनु पर्नेमा जोड दिएका छन् । अबको एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदै छ ।

कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको आयोजनाका लागि धेरै समय बाँकी नरहेको हुनाले यसका तयारी अझ व्यापक र व्यवस्थित ढङ्गले हुनु पर्ने बताए । उनले भने, ‘नेपाली टिमको तयारीका लागि अब धेरै समय बाँकी रहेको छैन । यस तयारीमा एनओसी सबै प्रकारले सहयोग गर्न तयार छ । हामीले एसियाली खेलकुदमा सहभागी हुने केही खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरेका छौँ ।’
अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचार प्रसारका लागि खेल पत्रकारको ठुलो भूमिका रहने बताए । उनले पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जनकारीका लागि सूचना आदान प्रदानका लागि विशेष व्यवस्था हुने बताउँदै पत्रकारको तर्फबाट रचनात्मक सहयोगको अपेक्षा रहेको बताए । त्यस अवसरमा पत्रकारले एसियाली खेलकुदको तयारीलाई लिएर विभिन्न प्रश्न गर्दै सुझाव पनि दिएका थिए ।
