
पोखरा, माघ १७ गते।
साफ यू–१९ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल भारतसँग पराजित भएको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले हार व्यहोर्न बाध्य भयो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन्। तर दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै भारतकी पर्ल फर्नान्डेजले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। उक्त गोल नै खेलको निर्णायक बन्यो।
गोल खाएपछि नेपालले खेलमा फर्किन निरन्तर प्रयास गर्यो। केही अवसर सिर्जना गरे पनि नेपालले बराबरी गोल गर्न सकेन। नेपालको आक्रमण कमजोर फिनिसिङका कारण सफल हुन सकेन।
नेपाल यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिताअघि पहिलो खेल अत्यन्तै महत्वपूर्ण हुने र भारतसँग अंक नगुमाउने योजनाका साथ मैदान उत्रने बताएका थिए। तर सोही अनुसार खेल्न नसक्दा नेपालले पहिलो खेलमै पराजय भोग्नुपर्यो।
शनिबारै सम्पन्न अर्को खेलमा साविक विजेता बंगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ।
बंगलादेशको विशाल जितमा मोस्ट मुन्की अख्तरले सर्वाधिक चार गोल गरिन्। यस्तै श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक पूरा गरे। मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक–एक गोल गरे।
नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल सोमबार भुटानसँग खेल्नेछ। पहिलो खेलको हारबाट पाठ सिक्दै नेपाल भुटानविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ।