बागमती प्रदेशका राष्ट्रिय कबड्डी खेलाडीलाई जर्सी हस्तान्तरण

काठमाडौं, माघ ११ गते ।

बागमती प्रदेशका राष्ट्रिय कबड्डी खेलाडीहरूलाई ललितपुरस्थित मोलिस कलेजका प्रमुख अतिथि प्रिन्सिपल इश्वर गुरुङले एक विशेष कार्यक्रमबीच जर्सी हस्तान्तरण गर्नुभएको छ। खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ललितपुर जिल्लाका पूर्व खेलकुद सदस्य कविराज माली लगाएतको उपस्थित रहनुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बोल्दै प्रिन्सिपल गुरुङले खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास र राष्ट्रिय पहिचान दिलाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै कबड्डी खेलको विकासका लागि निजी क्षेत्रबाट पनि निरन्तर सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले खेलाडीमा थप उत्साह र जिम्मेवारीको भावना विकास गर्ने बताउनुभयो।

प्रमुख अतिथि कविराज मालीले खेलाडीहरू राष्ट्रका गौरव भएको उल्लेख गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने स्पष्ट नीति प्रदेश र स्थानीय तहबाट निर्माण हुनुपर्नेमा जोड दिनुभयो। उहाँले खेलकुदमा लगानी बढे मात्र देशले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने धारणा व्यक्त गर्नुभयो।

नेपालमा फुटबल र क्रिकेटभन्दा बाहिरका खेलहरूले अझै पर्याप्त प्राथमिकता पाउन नसकेको सन्दर्भमा कबड्डी जस्तो शारीरिक शक्ति, रणनीति र टोली भावना आवश्यक पर्ने खेललाई संस्थागत रूपमा अघि बढाउन यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन्। निजी शैक्षिक संस्थाले खेलाडीलाई प्रत्यक्ष सहयोग गर्नु सकारात्मक संकेत भएको उनीहरूको भनाइ छ।

अब आवश्यक कुरा भनेको प्रदेश सरकार, स्थानीय तह र खेल संघबीच प्रभावकारी समन्वय गरी खेलाडीलाई नियमित प्रशिक्षण, पोषण, स्वास्थ्य तथा आर्थिक सहयोग उपलब्ध गराउनु हो। यदि यस्ता पहलहरू निरन्तर रूपमा अघि बढाइयो भने बागमती प्रदेशका कबड्डी खेलाडीहरूले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको नाम उज्यालो बनाउन सक्ने विश्वास व्यक्त गरिएको छ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा आगामी २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिता माघ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जनाएको छ। उक्त प्रतियोगितामा सहभागिता जनाउने बागमती प्रदेशका महिला तथा पुरुष टोलीको नामावली सार्वजनिक गरिएको छ।

महिला टोली

पूजा दुवाल, ललिता पहरी धनराहाडि मगर, रसिना पहरी, संगीता तामाङ, सरस्वती तामाङ, सलिना धामी, सुष्मिता राई, करिश्मा थामी, संजु थामी, उरुषा शाक्य र अञ्जना घले रहेका छन्।
महिला टोलीका प्रशिक्षकमा पशुपति प्रजापति तथा व्यवस्थापकमा सुजन नगरकोटी रहेका छन्।

पुरुष टोली

सबिन बोहजु, विनय गोसाई, सरमन प्रजापति, सन्देश तामाङ, प्रमोद श्रेष्ठ, विशाल सापकोटा, प्रतीक सुन्दास, सुनिल भुजेल, सुलभ खतिवडा, अर्जुन तामाङ, ज्यानेंद्र बुढा क्षत्री र पुकार बोगटी रहेका छन्।
पुरुष टोलीका प्रशिक्षकमा दिलिप नारायण श्रेष्ठ तथा व्यवस्थापकमा सुमन भेले रहेका छन्।

जर्सी हस्तान्तरण कार्यक्रमसँगै खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशको प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ