बीसीबी निर्देशकको राजीनामा माग्दै बंगलादेशी क्रिकेटरद्वारा बीपीएल बहिष्कार

काठमाडौं, माघ १ गते ।

ढाका।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक मोहम्मद नज्मुल इस्लामको राजीनामा माग गर्दै बंगलादेशी क्रिकेटरहरूले फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग (बीपीएल) बहिष्कार गरेका छन्। लामो समयदेखि जारी असन्तुष्टि चुलिँदै गएपछि खेलाडीहरूले अन्ततः मैदानमै नउत्रिने कठोर निर्णय लिएका हुन्।

यसअघि आईसीसी टी–२० विश्वकपमा बंगलादेशको सहभागिता अनिश्चित बनेको विषयमा क्रिकेटरहरूले बीसीबी नेतृत्वको कडा आलोचना गर्दै निर्देशक नज्मुल इस्लामको राजीनामा माग गरेका थिए। सो मागलाई बेवास्ता गरिएपछि खेल बहिष्कारको चेतावनीलाई व्यवहारमा उतारिएको हो।

क्रिकेटर्स वेलफेर एसोसिएसन अफ बंगलादेश (सीडब्ल्यूएबी) ले बिहीबार बिहानै बीसीबी निर्देशक नज्मुल इस्लामले तत्काल राजीनामा नदिए सबै प्रकारका क्रिकेट गतिविधि बहिष्कार गरिने स्पष्ट चेतावनी दिएको थियो। सीडब्ल्यूएबीका अनुसार, खेलाडीको अधिकार र भविष्यसँग जोडिएका गम्भीर विषयमा बोर्ड गैरजिम्मेवार बनेको आरोप लगाइएको छ।

आज बीपीएलको पहिलो खेल सुरु हुनुअघि नै निर्देशकको राजीनामा आउनुपर्ने अल्टिमेटम दिइएको थियो। तर, निर्धारित समयसम्म पनि राजीनामा नआएपछि दुवै टोलीका खेलाडी मैदानमा नआउँदा खेल नै सुरु हुन सकेन।

बीपीएलअन्तर्गत आजको पहिलो खेलमा चटोग्राम रोयल्स र नोएखाली एक्सप्रेस नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे आमनेसामने हुने तालिका थियो। तर, खेल सुरु हुने समयसम्म पनि खेलाडीहरू मैदानमा नदेखिएपछि प्रतियोगिताको भविष्यसमेत अन्योलमा परेको छ।

यस असन्तुष्टिको मुख्य कारण निर्देशक नज्मुल इस्लामको हालैको अभिव्यक्ति रहेको बताइएको छ। उनले भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा बंगलादेशले सहभागिता नजनाए खेलाडीहरूले कुनै पनि प्रकारको क्षतिपूर्ति नपाउने चेतावनी दिएका थिए। यही भनाइलाई खेलाडीहरूले अपमानजनक र गैरजिम्मेवार ठहर गर्दै विरोध जनाएका हुन्।

भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने तय भएको विश्वकप राजनीतिक कारणले विवादमा तानिएको छ। राजनीतिक खिचातानीकै बीच बंगलादेशले भारतमा विश्वकप खेल्न नजाने अडान लिएको बताइन्छ, जसले क्रिकेट बोर्ड र खेलाडीबीचको दूरी झनै बढाएको छ।

हालको अवस्थाले बंगलादेशी क्रिकेट गम्भीर संकटतर्फ उन्मुख भएको संकेत देखिएको छ। खेलाडी र बोर्डबीच सहमति नजुटे आगामी दिनमा बीपीएल मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगितासमेत प्रभावित हुने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ