
काठमाडौं, माघ १ गते।
इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनल अन्तर्गतको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तर्फ महत्वपूर्ण कदम चालेको छ।
चेल्सीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलले सुरुदेखि नै आक्रामक प्रदर्शन प्रस्तुत गरेको थियो। आर्सनलका लागि बेन ह्वाइट, भिक्टर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले एक–एक गोल गर्दै टोलीलाई जिततर्फ डोर्याए। खेलभरि प्रभावशाली देखिएको आर्सनलले बल पोजेसन र अवसर सिर्जनामा पनि चेल्सीलाई दबाबमा राख्न सफल भयो।
घरेलु समर्थकको साथ पाएको चेल्सीले भने हारबाट जोगिन कडा प्रयास गर्यो। चेल्सीका लागि अलेजान्द्रो गार्नाचोले दुई उत्कृष्ट गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। यद्यपि, गार्नाचोको दोहोरो गोल पनि टोलीलाई बराबरी वा जित दिलाउन पर्याप्त हुन सकेन र चेल्सी अन्ततः पराजित हुन पुग्यो।
अब यी दुई लण्डन प्रतिद्वन्द्वीबीचको सेमिफाइनलको दोस्रो लेग आगामी फेब्रुअरी ३ मा आर्सनलको घरेलु मैदानमा हुनेछ। दोस्रो लेगमा चेल्सीले फाइनल प्रवेशका लागि जित अनिवार्य बनाएको छ भने आर्सनल घरेलु मैदानको फाइदा उठाउँदै समग्र नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहनेछ।
यसैगरी, इएफएल कपको अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटीले न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ। सिटीले बलियो प्रदर्शन गर्दै स्पष्ट अग्रता बनाएको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
अब दुवै सेमिफाइनलका दोस्रो लेगले इएफएल कपको फाइनलमा कुन टोलीहरू पुग्नेछन् भन्ने निर्णय गर्नेछ, जसका लागि फुटबल प्रेमीहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।