
काठमाडौं, पुस २४ गते ।
अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) का नयाँ नियम तथा रेफ्रिइङ प्रणालीबारे जानकारी गराउने उद्देश्यसहित एक दिने जुडो रेफ्रिइङ सेमिनार काठमाडौंमा सम्पन्न भएको छ। नेपाल जुडो संघको आयोजनामा राजधानीस्थित एमएमएसी मा आयोजित सेमिनारमा देशभरका जुडो रेफ्री, प्रशिक्षक तथा प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सेमिनारमा आईजेएफद्वारा हालै लागू गरिएका नयाँ नियम, रेफ्रिको निर्णय प्रक्रिया, खेलको निष्पक्षता, अन्तर्राष्ट्रिय मापदण्डअनुसार रेफ्रिइङको अभ्यास तथा व्यवहारिक पक्षबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई खेलका वास्तविक अवस्थाहरू उदाहरणसहित प्रस्तुत गर्दै नियमको गहिरो व्याख्या गरिएको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय जुडो युनियन रेफ्रिइङ कमिसन सदस्य तथा एसएजेएफ का रेफ्री सिद्दिक्वी मुनावर अन्जार अली ले सहजीकरण गर्नुभएको थियो। उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिने विभिन्न जटिल रेफ्रिइङ अवस्थाहरू, नयाँ नियमको सही प्रयोग र निर्णयमा एकरूपताको आवश्यकतामाथि प्रकाश पार्नुभयो।साथै सह रेफ्रीमा सुमित यादव रहेको थियो।
सेमिनारलाई सम्बोधन गर्दै नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य ले रेफ्रिको क्षमता अभिवृद्धि बिना जुडो खेलको गुणात्मक विकास सम्भव नहुने बताउनुभयो। उहाँले भन्नुभयो,
“अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न खेलाडी मात्रै होइन, रेफ्री र प्रशिक्षक पनि समान रूपमा सक्षम हुनुपर्छ। आईजेएफका नयाँ नियम समयमै बुझेर लागू गर्न सके नेपाली जुडोले विश्वस्तरमा अझ राम्रो प्रदर्शन गर्न सक्छ।”
उहाँले नेपाल जुडो संघले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक तथा प्राविधिकहरूलाई नेपाल ल्याएर तालिम, सेमिनार तथा कार्यशाला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सेमिनारमा भारतको लखनउबाट आएका अनुभवी जुडो रेफ्री तथा प्राविधिकहरू ले समेत प्रशिक्षण तथा प्राविधिक सत्रमा सहभागिता जनाएका थिए। उनीहरूले रेफ्रिइङ र प्रशिक्षणबीचको समन्वय, खेलाडीको सुरक्षा, नियमअनुसार प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासबारे उपयोगी सुझाव प्रस्तुत गरेका थिए। भारतीय प्रशिक्षकहरूको अनुभवले सहभागी नेपाली रेफ्री र प्रशिक्षकहरूलाई व्यवहारिक ज्ञान लिन थप सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी रेफ्री तथा प्रशिक्षकहरूले यस्तो अन्तर्राष्ट्रिय स्तरको सेमिनारले आफ्नो सीप र आत्मविश्वास बढाएको प्रतिक्रिया दिँदै आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ नियम प्रभावकारी रूपमा लागू गर्न मद्दत पुग्ने बताएका छन्।
नेपालमा जुडो खेलको विकास, रेफ्रिइङ प्रणालीको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल सञ्चालन गर्ने लक्ष्यसहित आयोजित उक्त सेमिनार सफल र उपलब्धिमूलक भएको आयोजकले जनाएको छ।
