कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता

रेड टायल्स प्रालिको आयोजनामा नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ।

रेड टायल्सका प्रमुख सुरज केसीकाअनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ। उनले भने,‘आठौं संस्करणमा ३९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यसपालि स्कुलको परीक्षाले प्रभावित भएकाले करिब ३५० खेलाडी सहभागी हुने अपेक्षा गरेका छौं।’

भेट्रानलाई पहिलोपल्ट प्रतियोगितामा समावेश गरिएको हो, जसमा ४० वर्षमाथिको स्पर्धा राखिएको छ। भेट्रनका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ पाउनेछन्। कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ। स्कुलतर्फ ब्वाइज र गर्ल्स दुवैमा यु–१०, यु–१२, यु–१४ र यु–१६ स्पर्धा समावेश गरिएको छ। स्कुलतर्फ दार्जिलिङ र बुटवलका खेलाडी पनि सहभागी हुने बताइएको छ।

झन्डै चार लाख रुपैयाँ बजेटको प्रतियोगिताबारे केसीले भने, ‘युवा खेलाडी उत्पादनका लागि हजुरबुबाको नाममा प्रतियोगिता सुरु गरिएको हो, यसलाई अझ बृहत् रूपमा निरन्तरता दिनेछौं।’

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले भने, ‘युवा खेलाडी उत्पादनका लागि कृष्णध्वज स्मृति प्रतियोगिता निक्कै महत्त्वपूर्ण साबित भएको छ। यो प्रतियोगिता धेरै खेलाडीका निम्ति आधार बनेको छ। यसपालि थप राम्रो हुने विश्वास छ।’

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ