भारतमा आयोजना भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोलीले उपाधिका भिडन्त गर्नेछन् ।
नेपालको पुरूष र महिला दुवै टोलीको फाइनल खेल आइतबार हुँदैछ र दुवै विधामा उपाधिका लागि नेपाली टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल त्यसलगत्तै राति ८:१५ बजे सुरु हुनेछ । दुवै खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ ।
महिलातर्फ नेपाल र भारत दुव अपराजित रहँदै फाइनल पुगेका हुन् । पुरूषतर्फ भारत अपराजित रहेर फाईनल पुग्दा नेपालले भने एक खेल मात्र हारेको छ । पहिलो खेलमा भारतसँग पराजित भएपछि नेपालले त्यसयता सबै खेल जितेर फाइनलसम्म आइपुगेको हो ।
महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो ।
त्यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई ८९-१८ ले पराजित गरेको हो ।
यसैगरी पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो ।
क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई ७२-२० ले पराजित गर्दै फाइनल पुगेको हो ।
