दोस्रो संस्करणको ‘लेट सुशील केडिया स्पोट्र्स गाला’ सम्पन्न भएको छ। ललितपुरको जावलाखेलस्थित डिएभी सुशील केडिया विश्वभारती विद्यालयमा अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता सेप्टेम्बर ७ सोमबार सम्पन्न भएको हो।
स्पोट्र्स गालामा ९८ विद्यालयका १ हजार २० खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए ।
क्रिकेटतर्फको आठौं सुशील केडिया मेमोरियल कपको उपाधि डिएभी ब्लुले जितेको छ। फाइनलमा डिएभी ब्लुले डिएभी येलोलाई ३० रनले पराजित गर्दै उपाधि जितेको हो।
यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर डिएभी ब्लुका शेखर शाह, उत्कृष्ट बलर एलआरआई स्कुलका श्रेयश अवस्थी, उदीयमान खेलाडी हिमालयन ह्वाइट हाउस आईबी वल्र्ड स्कुलका आयुष शाही र उत्कृष्ट विकेटकिपर डिएभी येलोका रोनिश करञ्जित घोषित भए।
सेमिफाइनलमा डिएभी ब्लुले नेपाल पुलिस स्कुल तथा डिएभी येलोले हिमालयन ह्वाइट हाउस इन्टरनेसनल स्कुललाई पराजित गरेका थिए।
अन्य खेलतर्फ बास्केटबलमा बाल दीपक्षा सदन स्कुल विजेता बन्दा होली भिजन दोस्रो भयो। बास्केटबल महिलातर्फ ज्ञानदे बाल बाटिका विजेता बन्दा निसर्ग बाटिका दोस्रो भयो।
फुटबलमा सेन्ट जेभियर्स पहिलो, चेल्सी दोस्रो र ईपीएस स्कुल तेस्रो भए। टेबल टेनिसमा डिएभी पहिलो, एभीएम स्कुल दोस्रो र सृष्टि एकेडेमी तेस्रो भए। ब्याडमिन्टनमा नेपाल पुलिस स्कुल पहिलो, सेन्ट मेरीज दोस्रो र ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भए।
यस्तै, योगामा डिएभी पहिलो, एसिया प्यासिफिक दोस्रो र अकसिडेन्टल पब्लिक स्कुल तेस्रो हुँदा ताइक्वान्दोमा डिएभी पहिलो, सृष्टि एकेडेमी दोस्रो र माछापुच्छ्रे आईबी वल्र्ड स्कुल तेस्रो भए।
