किङ्समेनसँग ३१ रनले हार्दै नेपाल ‘ए’ सेमिफाइनलबाट बाहिरियो

काठमाडौं भदौ ११ गते ।

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले तेस्रो हार बेहोरेसँगै सेमिफाइनल प्रवेशको सम्भावना गुमाएको छ । बिहीबार भएको खेलमा नेपाल ‘ए’ किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

किङ्समेनले दिएको १९८ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९.२ ओभरमा १६६ रनमै अलआउट भयो । नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए पनि उनको उत्कृष्ट इनिङ्स टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन ।

कुशलले आक्रामक ब्याटिङ गर्दै महत्वपूर्ण रन जोडे । तर अन्य ब्याटरले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल लक्ष्यसम्म पुग्न असफल भयो । लोकेश बम र अनिल साहले समान ११ तथा विपिन खत्रीले १० रन बनाए ।

नेपालको इनिङ्स ध्वस्त पार्ने क्रममा किङ्समेनका स्कट कुगेलेइन र उसामा मिरले समान तीन विकेट लिए । अली शेखले दुई तथा उमेर खान र हमाद आजमले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्समेनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९७ रनको विशाल योगफल तयार पारेको थियो । किङ्समेनका लागि शेहान जयसूर्याले सर्वाधिक ६७ रनको योगदान गरे ।

त्यस्तै शयान जहाङ्गिरले २७, हमाद आजमले २६, मिलिन्द कुमारले २५ तथा तयाब आरिफले २२ रन बनाए । नेपालका बलरविरुद्ध किङ्समेनका ब्याटरले सुरुदेखि नै आक्रामक शैली अपनाउँदै ठूलो स्कोर खडा गरेका थिए ।

बलिङतर्फ नेपालका नारायण जोशीले दुई विकेट लिए । राशिद खान, पवन सर्राफ र कप्तान कुशल भुर्तेलले समान एक विकेट हात पारे ।

यो हारसँगै नेपाल ‘ए’को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगितामा चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ । अब नेपालले लिग चरणमा एक खेल खेल्न बाँकी छ ।

नेपालले अन्तिम खेल जिते पनि उसको कुल अंकसंख्या ६ मात्रै पुग्नेछ । तर प्रतियोगिताको शीर्ष चार टोलीको अंकसंख्या आठ पुग्ने समीकरण बनेपछि नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो ।

नेपालले प्रतियोगिताको सुरुआती खेलमा नर्दन टेरिटोरी स्ट्राइक र बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजय बेहोरेको थियो । त्यसपछि होबर्ट हुरिक्यान्स एकेडेमी र अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई पराजित गर्दै लगातार दुई जित निकालेको नेपाल पछिल्लो खेलमा किङ्समेनसँग रोकिएको हो ।

अब नेपालले प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्य राख्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ