एपिएफको विजयी सुरुवात, फ्रेन्ड्स १–० ले पराजित

काठमाडौं, माघ ४ गते ।

एपिएफ क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ। च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।

खेलको २५औँ मिनेटमा फ्रेन्ड्सका खेमराज श्रेष्ठबाट भएको आत्मघाती गोल नै एपिएफको जितको आधार बन्यो। त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन।

यस्तै, आइतबारकै अर्को खेलमा संकटा क्लबले काक्रेबिहार क्लबमाथि ४–० को फराकिलो जित दर्ता गर्‍यो। एकपक्षीय खेलमा संकटाका लागि अनिष महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र गिलबर्ट बिल्गोले एक–एक गोल गर्नुभयो।

राष्ट्रिय लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ए’ डिभिजन क्लबसँगै मोफसलका लालीगुराँस एसोसिएसन, काक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ